पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर झापाको झिलझिलेमा निर्माण भएको वाटर किङडम पार्कको उद्घाटन गर्न आउने भएका छन् ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडम सम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार सङ्रौलाले बग्गिको चाजो पाजो मिलाएका छन् ।
बग्गीको अघिल्तिर नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकी हुने पार्क सञ्चालकले कार्यतालिका बनाएका छन् ।
कोरोना महामारीका कारण २ वर्ष देखि पार्क सञ्चालन भएपनि औपचारिक उद्घाटन हुन पाएको थिएन । यसअघि पनि ओली प्रधानमन्त्री भएको बेला ओलीले नै पार्क उद्घाटन गर्ने कार्यतालिका बनेको थियो ।
कोरोनाका कारण तत्कालीन प्रधानमन्त्री ओली आउन नसक्ने भएपछि सो कार्यक्रम स्थगित गरिएको थियो ।
५० करोडको लागतमा निर्माण भएको सो पार्कको ओलीले पुस २५ गते भव्य कार्यक्रमको बीच उद्घाटन गर्ने छन् । यसको सिलन्यास झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय संसद एलपी सावाँ लिम्बू ले गरेका थिए ।
वाटर किङडम पार्क सञ्चालन हुन थालेपछि त्यहाँ आएर मनोरञ्जन गर्नेको संख्या दिनहुँ बढेको छ । पार्कमा टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या दिनहुँ बढेको संचालकले बताएका छन् ।
योसंगै उक्त पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइकिलिङले पनि पर्यटकको मन लोभ्याउन सफल भएको पार्कका कार्यकारी व्यवस्थापक संग्रौलाले बताए । उनले भने,‘ बिबाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाँउ वाटर किङडम पार्क हो ।’
पार्कमा पानीमा मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल पनि छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टीलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । यो सँगै आंतरिक तथा बहिय पर्यटकका लागि आवश्यकता अनुसार का आवास रूम पनि पार्क भित्र छन् ।