धनकुटा।बजेट अभावकै कारण देशका थुप्रै संरचनाहरु अलपत्र पर्ने गरेका छन् । यस्तै नियति धनकुटाको नाम्जेमा निर्माणाधीन जनजाति पार्कको रहेको छ ।
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्कको निर्माण कार्य बजेट अभावकै कारण अलपत्र परेकाे छ। १० वर्षअघिबाट सुरु भएको पार्कको निमार्ण कार्य बजेट अभावकै कारण अलपत्र बनेको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं.६ थुम्की स्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको एक करोड ४४ लाख खर्च भएको छ । २०६८ सालमा स्थानीय गाविस तथा स्थानीय नगरस्तरीय जनजाति महासङ्घको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक वर्ष २०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरे । स्थानीय पालिका तथा प्रदेश सरकारले काम सुरु गरेको यो पार्कमा चार वर्ष पुरा भइसक्दा पनि पार्क सम्पन्न नहुँदा अलपत्र छ ।
यो पार्क निर्माण भएपछि पर्यटकहरुले एकै स्थानमा विभिन्न जातजातिको कलासंस्कृति रहनसहन हेर्न पाउने र यसले पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिइएको थियो ।
पार्कमा एक सभा हल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भहरू बनाइएको छ । बजेट अभावका कारण त्यसबाहेक केही कामअघि बढ्न सकेको पार्क निर्माण समितिका संस्थापक अध्यक्ष बालकृष्ण राईले जानकारी दिए।
स्थानीय ग्रामीण जनता मा.बि.को ६ रोपनी जमिनमा पालिका र विद्यालयले यसबाट आउने आमदानीमा साझेदार गर्ने गरी सो पार्क बन्न लागेको हो । सो क्षेत्रको वृहत् विकास गर्न पार्कका लागि तीन करोड ७७ लाख ८७ हजारसहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी आठ करोडको डिपिआर रहेको छ ।
पार्क निर्माणका लागि मात्र हाल सम्म प्रदेश सरकारको आर्थिक वर्ष २०७५–०७६ मा ७८ लाख ८६ हजार र आ.व.२०७७–०७८ मा ६५ लाख ३० हजार खर्च भएको छ । आ.व.०७८–०७९ मा ७५ लाखको काम पुरा नभई रकम फिर्ता गएको थियो भने चालु आ.व.२०७९–०८० मा १५ लाख विनियोजन भएको छ ।
पर्याप्त बजेट नआएकोले पार्क निर्माण पुरा हुन नसकेको पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।