काठमाडौं। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय स्वागतयोग्य रहेको ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै टानले सरकारको यो निर्णय स्वागतयोग्य रहेको जनाएको हो ।
‘नेपालका विभिन्न पहाडी तथा उच्च हिमाली क्षेत्रहरूको पदयात्रामा जाँदा आईपर्न सक्ने प्राकृतिक एवं शारिरीक जोखिमहरुलाई मध्यनजर गर्दै पर्यटकहरुको सुरक्षाको खातिर पदयात्रालाई अझ सुरक्षित र मर्यादित बनाउनका लागी हाल व्यक्तिगत पदयात्राका लागी दिदै आएको टिम्सकार्ड बन्द गरि अधिकारीक ट्रेकिङ कम्पनीहरू मार्फत अनुभवी ट्रेकिङ गाईड र सहयोगीहरु अनिवार्य साथमा लागि पदयात्रा गर्नुपर्ने नियम आगामी अप्रिल १ २०२३ बाट लागु गर्ने सरकारको महत्वपूर्ण यो निर्णय स्वागतयोग्य रहेको छ ।’ आइतबार टान गण्डी प्रदेशका सचिव तिर्थराज सुवेदीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ
सरकारलाई लामो समयदेखि यस विषयमा ध्यानाकर्षण गराउँदै आएको सरकारले लिएको यसले निर्णय पर्यटन क्षेत्रका लागि कोशे ढुङ्गा साबित हुन सक्नेमा संस्था विश्वस्त रहेको विज्ञप्ति मार्फत जनाएको छ ।
‘हरेक वर्ग तथा उमेर समूहकाले पनि गर्न सक्ने हुनाले पनि अधिकांश नेपाल भित्रिने पर्यटकको मोह पदयात्रामा हुने गर्दछ । यस अर्थमा देशको प्रमुख आर्थिक मेरूदण्ड पर्यटनको मुख्य हिस्सा नै पदयात्रा पर्यटनमा दिनानु दिन पर्यटक उच्च हिमाली क्षेत्रमा वेपत्ता हुँदै जानु, मृत्यू हुने तथ्याङले नेपालको पर्वतीय पर्यटन जोखिमयुक्त भएको समाचारहरू अन्तराष्ट्रिय स्तरमा फैलिनाले नेपालको पर्यटनले ठुलो नोक्सान व्यहोर्दै आएको छ। साथै यो पेशासँग आश्रित दक्ष जनशक्ति विदेशिनु पर्ने वाध्यतालाई केहि हदसम्म रोकी दिगो पर्यटन विकासमा यो निर्णय कोशेढुङगा साबित हुन सक्नेछ भन्नेमा संस्था विश्वस्त छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ।
पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरूप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरूपमा गाइड लाने व्यवस्था गरेको हो।
नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए।
यस्तो सङ्ख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो। यसरी आउने पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए।
बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ।
यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति रु एक हजार र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार तिरेर टिम्स कार्ड लिने गरेका थिए। सबै पर्यटकका लागि टिम्सकार्डको मूल्य रु दुई हजार कायम गरिएको बोर्डले जनाएको छ ।