गोरखा । प्रसिद्ध धार्मिक तीर्थस्थल गाोरखाको मनकामना मन्दिर परिसरमा परेवा उडाउन निषेध गरिएको छ ।
भक्तजनहरुले भागल गरि भाकल पूरा भएपछि यहाँ आाएर परेवा उडाउने गर्दै आएकोमा अब भने मन्दिरको सौन्यर्दयतामा असर पुग्ने भन्दै परेवा उडाउन निषेध गरिएको हो ।
मन्दिरमा परेवा उडाउनेको संख्यामा वृद्वि हुदै गए पछि भिजिट मनकामना डटकमले परेवा उडानमा लगाएको रोकलाई निरन्तरता दिदै सचेतना अभियान सञ्चालन गरेको संस्थापक राजेन्द्र लामाले जानकारी दिए ।
परेवाको विष्टाले मन्दिरको छाना कामै नलाग्ने गरी कुरुप देखिने भन्दै संस्थापक लामाले भने, ‘मन्दिरको रुपलाई जोगाई राख्न पनि पुनः अभियान सञ्चालन गरिएको हो ।’
अभियानमा मन्दिरका पुजारी, मनकामना बजारले ओगटेको शहीद लखन गाउँपालिका वडा नम्बर २ र ३, मनकामना क्षेत्र विकास समिति र उद्योग वाणिज्य संघ, मनकामना ईकाइ समिति तथा स्थानीय संघ संस्थाहरूको पनि सहयोग रहेको उद्योग वाणिज्य संघ, मनकामना ईकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पछिल्लो समय मनकामना बजार भित्रैका केही ब्यापारीहरू र मनकामना केबलकारको गेट वरपरका ब्यापारीहरुले दर्शनार्थीलाई परेवा बिक्री गर्न थाले पछि निषेधको अभियानलाई पुनः थालिएको हो ।
भिजिट मनकामनाले आइतबारदेखि अभियानको थालनी गरेको छ । संस्थापक लामाका अनुसार यो हप्ताभरी अभियान अन्तरर्गत मनकामना मन्दिरमा आउनेहरूलाई ‘मनकामनामा परेवा लैजान पूर्णरुपमा निषेध’ भनिएको पर्चा बितरण गरिने र अर्को हप्ताको आइतबारबाट परेवा लिएर आएको खण्डमा फिर्ता गरिने छ ।
अभियानलाई सफल पार्न भिजिट मनकामनाले मनकामना दर्शन प्रालिलाई समेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध समेत गरेको छ ।
यता मनकामना मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले मन्दिरमा रहेको देवीको नाममा परेवा उडाउदा समस्या आएको बताए ।
२०७२ सालमा गएको बिनाशकारी भूकम्प पछि मन्दिरको जिर्णोद्वार गर्दा मन्दिरको छाना सुन हालिएको र परेवाको दिशाले छानाको रुपलाई असर गर्ने भए पछि परेवा उडाउन रोक लगाइएको थियो ।
उता मनकामना केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले यात्रुहरूलाई परेवा लान निषेध गरेको भएता पनि लुकाई छिपाई लाने गरेको बताए । उनका अनुसार यात्रुले कर्मचारीलाई झुक्काएर परेवा लैजाने गरेको बताए ।