काठमाडौं। झण्डै दुई महिनादेखी भैरहवा विमानस्थालबाट बन्द रहेको जजिराको उडान कम्पनीले पुनः सुरु गर्ने भएको छ।
कुवेतको जजिरा एयरवेजले यहीँ फागुन २५ गते (मार्च ९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको हो।
एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु गर्ने जनाएको छ । जजिराले जारी गरेको विज्ञप्तिमा भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान गर्नेछ ।
त्यस्तै, कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे भैरहवाका लागि उडान हुनेछ । भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपियाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले बताए।
गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दैआएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौंकेन्द्रित गरेको थियो । पछिल्लो समय मौसम खुल्दा समेत जजिराले उडान सुरु नगरेपछि संशय पैदा भएको थियो ।
जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा नियमित उडान गर्दै आएको थियो।
हाल यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द छ। भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ।
यसबाहेक हाल विमानस्थलबाट दैनिक १८ देखि २५ वटा आन्तरिक उडान भइरहेको छ।