काठमाडाै। स्प्रिङ सिजनको सगरमाथा आरोहणको मौसम नजिकिँदै गर्दा रुट निर्माण गर्न आइस्फल डाक्टरहरूको टोली नाम्चे बजारबाट एभरेष्ट आधार शिविरतर्फ प्रस्थान गरेको छ।
सगरमाथा आरोहणको रुट निर्माणको लागि आइस्फल डाक्टरको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चेले जानकारी गराएको छ।
टोलीले सन २०२३ को वसन्त आरोहण सिजनमा सगरमाथा, ल्होत्से र माउन्ट नुप्तसे आरोहण गर्ने आरोहीहरूका लागि खुम्बु आइस्फल रुट तय गरी मर्मतरसम्भारसमेत गर्नेछ।
रुट निर्माण गर्नुअघि आइस्फल डाक्टरहरूले मार्च २ देखि मार्च ६ सम्म एभरेष्ट बेस क्याम्पमा खुम्बु क्लाइम्बिङ सेन्टरका प्रशिक्षकहरूबाट स्थलगत प्रशिक्षणमा भाग लिने एसपिसिसिले जनाएको छ।
टोलीमा आधार शिविरका प्रबन्धकको रुपमा छिरिङ तेन्जिङ शेर्पा, आठ आइस्फल डाक्टरहरूमा आङ सार्की शेर्पा, छेवाङ नुरु शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, मिङ्मा तेम्बा शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनम छिरिङ शेर्पा, तेन्जेर्पा रहेका छन्।
त्यस्तै टोलीमा दुई किचन स्टाफमा नवाङ थातेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा छन भने एक फोहोर व्यवस्थापन कर्मचारी सञ्जीव तामाङ पनि सहभागी छन्।
आइस्फल डाक्टरको टोलीले वेसक्याम्पबाट क्याम्प– २ सम्म रूट तय गर्ने, निर्माण गर्ने र मर्मत सम्भार गरी सगरमाथा आरोहणको रुट खुलाउनेछ। क्याम्प– २ बाट सगरमाथासम्मको रुट भने नेपाली पर्वतीय गाइडहरूले खुलाउने गर्छन्। टोलीले सगरमाथा आरोहणको रूट खुलाउनेदेखि डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गर्नेछ।
विश्वको ८ हजार माथिका १४ वटा हिमालमध्ये सर्वोच्च शिखर सगरमाथा हिमाल (८८४८.८६) मिटर सहित ८ वटा हिमाल नेपालमा पर्छ । विश्वभरबाट वर्षेनी सयौं आरोही पर्यटक नेपाल आउँछन्। हिमाल आरोहणबाट नेपाल सरकारले वर्षेनी करोडौं विदेशी मुद्रा आम्दानी गर्छ।
सन १९५३ मे २९ मा न्युजिल्याण्डका सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले प्रथम पटक सगरमाथाको सफल पछि हालसम्म १० हजार ६५७ पटक भइसकेको छन भने ३११ जनाले ज्यान गुमाएका छन्।