काठमाडौँ। नेपालको पर्यटकीय जिल्लाको रुपमा रहेको सोलुखुम्बु जिल्लाले ५ वर्षमा पर्यटक शुल्क बापत मात्रै ४५ करोड भन्दा बढी रकम उठाएको छ।
गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा पर्यटक शुल्कबाट मात्र गाउँपालिकाले पाँच वर्षको अवधिमा ४५ करोड चार लाख ७० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो।
नेपालकै मुख्य पर्यटकीय क्षेत्रको रूपमा चिनिने खुम्बु क्षेत्रको विकासका लागि गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको खुम्बु क्षेत्रको पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको अवसरमा गाउँपालिकाले तथ्याङ्क सार्वजनिक गरेको हो।
त्यस्तै, पछिल्लो पाँच वर्षको अवधिमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मात्र दुई लाख २५ हजार २ सय ३५ जना पर्यटकले भ्रमण गरेका छन्। खुम्बु पासाङ ल्हामु गाउँपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४–०७५ देखि हालसम्म खुम्बु क्षेत्रको पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या दुई लाख २५ हजार भन्दा बढी भएको जानकारी दिइएको छ।
आगामी वर्षहरुमा यहाँ आउने पर्यटकहरुको संख्यालाई दोब्बर बढाउने गरिने काम गर्न स्थानीय सरकार तयार रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।
‘देशका ७ सय ५३ स्थानीय तह मध्ये पर्यटकीय गाउँपालिकाको रूपमा मानिने खुम्बुले सुरक्षित पर्यटकीय गन्तव्य, एकीकृत रूपमा पर्यटकको सुरक्षा नीति लगायतका व्यवस्थापकीय क्षेत्रलाई समेत थप सुधार गर्दै आउने वर्षहरूमा पर्यटक आगमनको सङ्ख्या दोब्बरले वृद्धि गर्ने लक्ष्य राखेको छौं’, अध्यक्ष शेर्पाले भने।
हिमालै हिमालको देश भनेर चिनिने नेपाल त्यसमाथि पनि खुम्बु गाउँपालिका भित्र मात्र अग्ला र होचा गरी पहिचान भएका ७८ वटा हिमाल रहेका छन्। पदयात्रा मात्र नभएर पर्वतीय पर्यटनलाई मुख्य जोड दिएर गाउँपालिकाले नीति गरुपमा सुधार गर्ने लक्ष्य राखेको अध्यक्ष शेर्पाले बताए। नीति मात्र नभएर पुर्वधार समेत अभाव भएकाले सबै निकायसँग समन्वय गर्ने र सडक विस्तारलाई पहिलो प्राथमिकता राखेर काम अघि बढाएको गाउँपालिकाले जनाएको छ। खुम्बु जोड्ने सडक अभाव हुँदा हालसम्म लुक्ला विमानस्थलबाट हवाई मार्गकै भर पर्नु पर्ने बाध्यता रहेको छ। सल्लेरी बाट थाम डाँडासम्म सडक पुगेकाले लुक्ला सम्म सडक जोड्ने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरुले त्यस क्षेत्रमा मौसमअनुसार पर्यटकको सङ्ख्या बढी हुने भएकाले होटेल र लज व्यवस्थापन प्रभावकारी बनाउनु मुख्य रहेको बताएका थिए। भरियाको व्यवस्थापन, उद्धारका कार्य, पर्यटक शुल्कसँगै टिम्सको नाममा लिइने शुल्क बाधक बनेकाले एकद्धार प्रणाली लागु गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जे शेर्पा, प्रदेश एकका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, पर्यटन विभागका निर्देशक युवराज खतिवडा लगायत पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।
१ हजार ५ सय ९९ मिटर देखि सुरु हुने यस खुम्बु क्षेत्र ८ हजार ८सय ४८.८६ मिटरसम्म फैलिएको छ।