काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सूची सार्वजनिक गरेका छन्।
सोमबार मन्त्रालयमा एक कार्यक्रममको आयोजन गरि उनले पशुपति विश्वविद्यालय स्थापनादेखि नमस्ते पर्यटक सेवा लगायत १० कामको सूची सार्वजनिक गरेका हुन्।
उनले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेको पाँच वटा काम र आगामी दिनमा गरिने १० कामको सूची सार्वजानिक गर्दे आफू गफ नभइ काम गर्न आएको बताएका छन्।
मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाई तीन महिने अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलाहरू माथि हुने दुव्र्यवहार सम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताए।
त्यस्तै, सरसफाई संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायात सञ्चालन गर्ने, ग्राउन्डेड जहाज छानविन समिति गठन गर्ने तयारी रहेको उनले बताए।
हवाई नागरिक उड्डयन विद्ययक प्रक्रिया बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीले जानकारी दिए।
त्यस्तै, उनले हालसम्म गरेका पाँच कामबारे पनि बताए।
वायुसेवा निगमको अनलाइन टिकटिङ, सरसफाई र व्यवस्थापकीय सुधार, हवाई सुरक्षा सम्बन्धी सबैमा काम गर्ने निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदन साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको व्यवस्थापन गरेको उनले बताए।