रामेछाप। खाँडादेवी प्रख्यात शक्तिपीठ हुन् । खाँडादेवीको दर्शनले शक्ति आर्जन, प्रसन्नता, सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
खाँडादेवी गाउँपालिका–७, रामेछापमा प्यागोडा शैलीको मन्दिर छ । मन्दिरभित्र देवीको निराकार शिला छ ।
यिनलाई भाकेर चोखो मनले जे माग्यो त्यहीँ पूरा हुन्छ । भाकल पूरा भएपछि भक्तजन आएर पूजापाठ गर्छन् । देवीलाई पञ्चबलि, नरिवल, धुप, अक्षता र फूल चढाउँछन् ।
यो मन्दिरमा तामाङ जातिका पूजारी छन् । अचेल पूजारीका ११ घर छन् । उनीहरू आलोपालो प्रणालीमा पूजापाठ गर्छन् । खाँडादेवी मुन्तिर दुर्गा नदी छ । त्यहाँको जलले खाँडादेवीलाई स्नान गराइन्छ ।
शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्छ। पञ्चबलि दिइन्छ । अहिले अन्य समयमा समेत दर्शनार्थीको संख्या बढेको छ ।
दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा तथा तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि आउन लागेका छन् । खाँडादेवी मन्दिरसम्म सडकको पहुँच पुगेपछि दर्शनार्थीहरु बढेका हुन् ।
खाँडादेवी विगतमा प्रचारबाट ओझल परेको शक्ति पीठ हो ।
खाँडादेवीको आफ्नै कथा छ । खासमा खाँडादेवीको मनुष्य चोलाको नाम सुकुमाया पोहरी हो । उनको माइती रामेछापकै गेलु गाउँमा छ । तिनताका राजा गाउँ डुल्ने क्रममा उनको घरमा पुगेपछि मोहित बने । उनले सुकुमायालाई जबर्जस्ती सिन्दूर हाले र डोलीमा चढाए ।
उनलाई राजधानी ल्याउने क्रममा जंगलमा आराम गर्न डोली बिसाइयो । त्यतिबेला सुकुमाया अलप भइन् र शिलाको रूपमा प्रकट भइन् । समय क्रममा उनलाई देवीका रूपमा पुज्न थालियो । यसरी वि.स. १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवी उत्पत्ति भएको मानिन्छ ।
मन्दिर धेरै पुरानो हो भन्ने विसं १५७३ सालमा चढाइएको घन्टाले पनि प्रमाणित गर्दछ।
त्यस्तै नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीमा अर्को गढी बनाएर देवीको आशीर्वाद लिएको जनश्रुति पाइन्छ ।
खाँडादेवी विकास कोषले मन्दिरको व्यवस्थापन गर्दै आएको छ । विसं २०५९ मा कोष दर्ता गरिएको थियो । टिनको छाना भएको मन्दिरलाई पुरातत्व विभागले तामाको छानासहित नयाँ स्वरूप दिएको छ ।
मन्दिर सेरोफेरोमा तामाङ, मगर, क्षेत्री लगायतको बसोबास छ । मन्दिर हाताको होलमा सामान्य खाना र बास सुविधा पाइन्छ ।
काठमाडौंबाट करिव १०० किलोमिटरको यात्रापछि खाँडादेवी पुग्न सकिन्छ । धुलिखेलबाट ८० किलोमिटरको यात्रा पूरा गरेपछि प्रसिद्ध कुशेश्वर महादेवको दर्शन गर्न सकिन्छ । त्यसपछि सित्खाबाट सुनकोशी नदी तरेर कच्ची सडकको यात्राहुँदै खाँडादेवी पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट भने २० किलोमिटर दूरीमा खाँडादेवी पुग्न सकिन्छ ।
अहिले पनि खाँडादेवी मन्दिरको विकास र संरक्षणको लागि पुरातत्व विभागले खाँडादेवी विकास कोषसँग मिलेर काम गरिरहेको छ । मन्दिरको पुरानो भवन हटाएर अत्याधुनिक भवन निर्माण तथा सिँढी हाल्ने लगायतका काम भएको कोषका अध्यक्ष शेरबहादुर तामाङले बताए ।