रुकुम। रुकुम (पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन्। डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो।
ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ। लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिए।
उनकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ। प्रत्येक किसानले न्यूनतम १० बोटदेखि ६६ सम्म ओखरको बिरुवा लिएका छन्।
समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताए।
भोलि सिस्ने गाउँपालिका–५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ।
यी कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ–आफ्नै क्षेत्रमा खटिने छन्। अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लगाइने भएको छ। वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरुवा रोपिने भएको छ। यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ।
गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको बिरुवा कसानलाई वितरण गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो। यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो।
हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम९पूर्व० मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ। सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्नेमा किसानमा चिन्ता छाएको छ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम ९पूर्व० रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ।रासस