सिन्धुपाल्चोक, पुस २२ ।
पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप निर्माणाधिन बुद्धपार्क अन्तिम चरणमा पुगेको छ । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्क वैशाखसम्म निर्माण सक्ने लक्ष्यअनुसार निर्माण गरिएको हो ।
पर्यटन प्रवर्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको महत्वकांक्षी योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण थालिएको हो । नगरपालिकाको वडा नं. ६ पिपलडाँडामा निर्माण भइरहेको ६८ फिट अग्लो यो पार्कले पर्यटन प्रवर्धनमा सघाउ पु-याउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
गौंराती सामुदायिक वन क्षेत्रमा पार्क निर्माणाधिन छ । नगरपालिकाले अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङले जानकारी दिए । “चौतारा अहिले पर्यटकीय गन्तव्यको रुपमा पर्ने गरेको छ, सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात अलमलाउने योजना छ” उनले भने, “सांगाचोकको गढी, इर्खुको रानीपोखरी, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने नगरपालिकाको योजना रहेको छ ।”
गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपायअनुरुप यो योजना अगाडि सारिएको गाउँपालिकाले जनाएको छ । निर्माणाधिन बुद्धपार्कबाट रमणीय चौतारा बजार, जुगल हिमाल, काभ्रेको धुलिखेललगायतका स्थान देख्न सकिन्छ ।
“पर्यटन प्रवर्धनबाट स्थानीयलाई आर्थिक उपार्जनका लागि पनि यसले भूमिका निर्वाह गर्ने विश्वास छ” मेयर तामाङले भने, “यहाँ आउने पर्यटकले स्थानीय उत्पादनको स्वाद पाउनेछन्, त्यसले गाउँबासीलाई रोजगारीसमेत दिनेछ ।”
दर्शनार्थीको भीड लाग्ने २०५२ सालमा तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्यले उद्घाटन गरेको प्रसिद्ध गौराति भीमसेन मन्दिर पनि निर्माणाधिन बुद्ध पार्क नजिकै भएकाले पनि यसको महत्व झनै बढ्ने अपेक्षा गरिएको छ ।
पार्क निर्माण सम्पन्न भएपछि यहाँका गाउँवासीमा आयआर्जनको बाटोसमेत खुल्ने अपेक्षा छ । गाउँमा पर्यटक बढ्ने र गाउँमा उत्पादन भएका सामग्रीहरु बिक्री भई गाउँमै व्यवसाय सञ्चालन गर्न सकिने स्थानीय दिनेश तामाङले बताए । गौरातीको भिमशेन मन्दिर नजिकै रिसोर्ट सञ्चालन गर्दै आएका तामाङले जापानबाट ५ वर्षपछि घर फर्किएर आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् । “स्वोदेश फर्किएर आफ्नै लागतमा व्यवसाय सुरु गरें” उनी भन्छन्, “घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना तथा खाजाको प्रबन्ध मिलाउँदै व्यस्त हुन्छु ।” बुद्धपार्क निर्माणले पर्यटक बढ्ने भएपछि तामाङ थप उत्साहित छन् ।
बुद्ध पार्क निर्माणस्थलबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट स्पष्ट रुपमा देख्न सकिन्छ ।सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ । निर्माणाधिन सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने बुद्ध पार्क भ्यूटावरसहितको जमिनबाट ६७ फिट अग्लो बन्ने यस योजनाका प्रविधिक विकास श्रेष्ठले बताए । समुन्द्री सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजान निर्माणाधिन बुद्धको प्रतिमाले महत्व राख्दछ ।