जसरी फूल वरिपरि मौरी घुम्छन्, त्यसैगरी मौरी वरिपरि घुम्छन् माधव।
तुलसीपुर उपमहानगरपालिका-१०, टरिगाउँका ४६ वर्षीय माधव केसी मौरी वरिपरि घुम्न थालेको १६ वर्ष पुग्यो। उनले २०६२ सालमा पहिलोपटक मौरीका २५ गोला किनेका थिए। त्यसयता उनको जिन्दगी मौरीकै वरिपरि घुमिरहेको छ।
'मौरीको संगत हातखुट्टा चल्दासम्मै रहोस्,' उनी भन्छन्, 'मौरी फूलमा घुमून् म तिनको घारमा।'
माधवले २०५९ सालमा चितवनको रामपुर क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेका थिए। त्यसपछि दुई वर्ष अनुसन्धानमा बिताए। अनुसन्धानमा उनले रोजेको विधा ‘प्लान्ट प्रोटेक्सन’ (बालीनाली संरक्षण) थियो र त्यसैअन्तर्गत मौरीपालन पनि पर्थ्यो।
त्यही बेला उनले व्यावसायिक मौरीपालनबाट स्वदेशमै बसेर राम्रो आयआर्जन गर्न सकिने बाटो देखे। अहिले उनी चार सय मौरी गोलाका मालिक छन्। तीमध्ये सयवटा जति गोला घरनजिकैको खुला चउरमा राखेका छन्।
उनको घर आसपास किसानका बारीमा यतिखेर तोरी पहेँलपुर छ। उनले पालेका मौरी चर्ने ठाउँ त्यही हो।
माधवका अनुसार मौरी कम्तीमा साढे तीन किलोमिटर टाढासम्म विचरण गर्न जान्छ। तोरीका फूलहरूबाट पराग बटुलेर ल्याउँछ। यसबाहेक आफ्नो घरदेखि झन्डै १२ किलोमिटर दक्षिणको तुलसीपुर-११, कटाँहामा उनले एक सय ५० गोला मौरी चरनका लागि राखेका छन्। त्यस्तै, १२ किलोमिटर उत्तरमा पर्ने तुलसीपुर-३, राम्री क्षेत्रमा त्यतिकै संख्यामा मौरी पालेका छन्।
टरिगाउँ र कटाँहाबाट कात्तिके तोरीको फूलको मह उत्पादन भइरहेको छ। राम्री जंगल क्षेत्रमा चिउरी फूल पाइने भएकाले त्यहाँ चिउरीको मह उत्पादन हुन्छ। चिउरीको फूलबाट उत्पादित मह तोरीको भन्दा दोब्बर महँगो हुने उनी बताउँछन्।
चिउरीको फूलबाट उत्पादित महको मूल्य प्रतिकिलो करिब हजार रूपैयाँ पर्छ भने तोरीको फूलबाट उत्पादित मह पाँच सयमा बिक्री हुन्छ। मंसिर १५ पछि मौरी चराउन कैलाली जिल्ला पुर्याउने उनले बताए।
मौरीको रेखदेख गर्दै मह बेच्नु माधवको नसा बनिसकेको छ।
‘हामी मौरीपालक किसानले उत्पादन गर्ने वस्तु भनेको अमृत हो,’ उनले भने, ‘मौरीपालनमा एउटा छुट्टै खालको नसा छ, एउटा छुट्टै क्रेज छ।’
उनले महलाई अमृत भनेर त्यसै भनेका होइनन्। बिरामी र कुपोषण भएकाहरूका लागि मह निकै लाभदायक हुन्छ। यति हुँदाहुँदै अझै पनि किसान र सर्वसाधारणलाई महको महत्व बुझाउन नसकेको उनी बताउँछन्।
‘हामी निजी क्षेत्रका मानिसले बोलेको भन्दा राज्यले बोलेको कुरा गहन र गहकिलो हुन्छ,’ उनले भने, ‘कमसेकम मह उत्पादन हुने याममा सर्वसाधारण किसानको जागरणका लागि राज्यले चेतनामूलक सन्देशहरू दिनुपर्छ। महको उपयोगिताबारे उपभोक्तालाई सम्झाउनु पनि पर्छ।'
गुणस्तरीय र गुणस्तरहीन मह कसरी छुट्टयाउने भनेर उपभोक्ताले जान्न जरूरी भएको उनी बताउँछन्।
राज्यले त गर्ला-नगर्ला, कम्तीमा माधवजस्तै महमा तनमन अर्पण गरेका उत्पादकले उपभोक्तालाई यसको जानकारी दिनैपर्छ। यही सोचेर हामीले उनलाई सोध्यौं, 'शुद्ध मह कसरी चिन्ने?'
उनको पहिलो सूत्र छ, डुलेर मह बेच्न ल्याउने व्यक्तिहरूसँग सकेसम्म नकिन्नू। कतिपयले चिनी पगालेर वा मिसाएर पनि बेच्ने गरेका हुन्छन्।
महमा मरेका मौरी र चाकाहरू देखियो भने नकिन्न उनी सुझाउँछन्। यो उनको दोस्रो सूत्र हो।
उनले महको गुणस्तर चिन्ने सजिलो विधि पनि सुनाए, 'एउटा सिसाको गिलासमा पानी राख्ने। त्यो गिलासमा महको धारा माथिबाट चुहाउने। यदि मह पानीको सतहलाई काटेर गिलासको पिँधमा गएर बस्यो भने त्यो शुद्ध मह हो।’
उनले अगाडि भने, ‘तातो पानी होस् वा चिसो पानी, शुद्ध मह पानीको धार काटेर पिँधसम्मै पुग्छ। चिनी मिसिएको मह भने बीचमै पानीसँग घुलिन्छ।'
मह कुन बालीबाट उत्पादन गरिएको हो भन्ने कुरा त्यसको बासनाका आधारमा पत्ता लगाउन सकिने उनी बताउँछन्।
'राम्रो मह उत्पादनका लागि तोरीबारी, वनजंगल र फूलबारी आवश्यक हुन्छ। किसानलाई मौरीपालनमा आकर्षित गर्न मध्यपहाडी क्षेत्रका सामुदायिक वनलाई अब्बल बनाएर चिउरीका बोट रोप्नुपर्छ,' उनले भने।
अहिले पनि नेपालका सामुदायिक वनहरू बाख्रापालनका लागि मात्रै बढी उपयोग भइरहेको उनको भनाइ छ। ती वनजंगललाई मौरीपालन निम्ति उपयोग गर्नमा उनी जोड दिन्छन्।
उनले सिसौ, रूदिनो (वन बकाइनो) कडीपत्ता, चिउरी, खयर, साजजस्ता बोटबिरूवालाई संरक्षण सूचीमा राख्न वन विभागले पहल गर्नुपर्ने पनि सुझाए।
माधवका अनुसार कात्तिकदेखि जेठसम्म मह उत्पादनको याम हो। त्यसपछि महको अफसिजन सुरू हुन्छ। अफसिजनमा मौरी पाल्नुपर्छ। तोरीको सिजन र चिउरी लगायत बोटबिरूवाको सिजमा अत्यधिक मह उत्पादन हुने उनी बताउँछन्।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले मह उत्पादनमा पनि नराम्रो प्रभाव पारेको थियो। यसका एक भुक्तमान माधव नै हुन्।
उनले गत वर्ष दुईपटक मात्रै मह काढेका थिए। त्यसबाट जम्मा छ टन मह उत्पादन भयो। यो वर्ष दस टन उत्पादन गर्ने उनको लक्ष्य छ। उनले पहिलो मह काढिसके, लक्ष्य पूरा गर्न अझै पाँचचोटि काढ्नुपर्छ। तोरी फुल्ने सिजनमा साताको एकपटक मह काढ्न मिल्ने उनले बताए।
‘म अनुसन्धान गरेर अरूलाई पनि धेरै कुरा दिन चाहन्छु,’ उनले भने, ‘मैले ६/७ वर्षदेखि रोगकीरा लाग्दा कुनै विषादी छरेको छैन। अफसिजनमा मौरीलाई चिनी पनि दिएको छैन।’
उनले मौरीको ‘रानी उत्पादन’ गरेको रिसर्च महत्वपूर्ण सफलता मानिएको छ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले उनलाई २०७१-७३ मा अनुसन्धान गरी ‘गुणस्तरीय रानी मौरी’ उत्पादनमा सघाउन र गोला वृद्धिका लागि ५९ लाख ५९ हजार रूपैयाँ अनुदान दिएको थियो।
२०७१ सालमै माधवले राष्ट्रपतिको हातबाट उत्कृष्ट मौरीपालक किसानको पुरस्कार पनि पाइसकेका छन्। उनी दाङ जिल्लामै मौरी पालेर उत्कृष्ट किसानको पुरस्कार पाउने पहिलो व्यक्ति हुन्।
अहिलेसम्म मौरीपालनमा करिब डेढ करोड रूपैयाँ लगानी भइसकेको उनी बताउँछन्। आफूसँग भएका मौरी मात्रै बेचे भने तत्कालै ७० देखि ८० लाख आउने पनि उनले जानकारी दिए।
एक गोला मौरीको खरिद मूल्य १० देखि १५ हजार रूपैयाँ पर्छ। एक हजार गोला पुगेपछि यही वर्षदेखि मौरी र रानी मौरीसमेत उत्पादन गरेर बिक्री सुरू गर्ने उनको योजना छ।
किसानको आवश्यकता बुझेर राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) जस्ता सरकारी संस्थाले चित्तबुझ्दो अनुसन्धान गर्न नसकेको उनको भनाइ छ।
मौरीपालनमा चरन, रोगकीरा र रानी मौरीको समस्या रहेको उनी बताउँछन्। विदेशीले एक गोलाबाट वर्षमा ६०-७० किलो मह निकाल्ने गरेको तर नेपालीले एकपटकमा ५-६ किलोभन्दा बढी निकाल्न नसक्नुमा उनी अनुसन्धान अभावलाई नै कारण मान्छन्।
‘हामीले वर्षभरि छपटक मह काढ्दा २५-३० किलो मात्रै निकाल्न सक्छौं,’ माधवले भने, ‘हामीसँग अनुसन्धान भएन। हामीलाई कुन विधि र पद्धतिबाट मह निकाल्ने भनेर कसैले थप ज्ञान दिँदैन। परम्परागत विधि नै यहाँ चलिरहेको छ।’
उनी ठाउँठाउँमा हुने मेला, महोत्सवहरूमा मौरीका स्टल राख्न पनि जान्छन्। उनको फार्ममा तालिम पनि सञ्चालन हुँदै आएको छ। भविष्यमा आफ्नो ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ लाई तालिम केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको उनले सुनाए।
सबै तस्बिर र भिडिओ: नारायण खड्का/सेतोपाटी